दशैंको टिकाको दिन चक्काजाम गर्ने विप्लव माओवादीको घोषणा
भदौ २०
काठमाडौं–नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले दाल, चामल लगायतका दैनिक उपभोग्य वस्तुको मुल्य ५० प्रतिशत घटाउन माग गरेको छ ।
नेकपा माओवादीले केन्द्रीय समितिको ११ औं बैठकबाट निर्णय गरी दाल, चामल, तेल, चिनी, पिठो, दुध, तरकारी, फलफुल, मासु र मसलाको मुल्य ५० प्रतिशत घटाउन माग गरेको हो ।
नेकपा माओवादीले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी पेट्रोलको मूल्य प्रतिलिटर ४८ रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपीजी ग्याँसको मुल्य प्रतिलिटर ३ सय ७८ रुपैयाँ घटाउन माग गरेको छ ।
माग पूरा गर्नका लागि दवाब दिन माओवादीले असोज २५ गते विजयादशमीका दिन देशव्यापीरुपमा एक घण्टा चक्काजाम गर्ने गरी आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले इन्धन र दैनिक उपभोग्य वस्तुमा चर्को मुल्य कायम गरेर उपभोक्तालाई ठग्ने काम भइरहेकाले उपभोक्ताको सहभागीतामा आन्दोलन गर्ने गरी असोज २८ गतेसम्मका लागि विरोधका कार्यक्रम तय गरिएको बताए ।
नेकपा माओवादीले आफ्नो आठौं महाधिवशन आगामी फागुन १ गतेदेखि ७ गतेसम्म गर्ने निर्णय समेत गरेको छ । महाधिवेशनको उद्घाटन सत्र काठमाडौको खुलामञ्च र बन्दसत्र रोल्पाको थवाङमा गर्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।


0 comments
Write Down Your Responses